ओलीलाई साथ दिएका जसपाका सांसदलाई कारवाही गर्ने, राजेन्द्र महत्तो संसदीय दलको नेताबाट खारेज

९ जेठ, काठमाडौं । हिजो बसेको जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतो संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले उनको पदलाई खारेज गरेको हो । यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो ।

बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता महतोले पार्टीको निर्णयविपरित काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई समर्थन गर्दै गठन गरिएको कार्यदलमा बसेको कारण लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए । ओलीकौ प्रतिगमन कदम चाल्न साथ दिने जसपा नेपालका सांसदहरुलाई पनि कारवाही गर्ने निर्णय गरिएको समेत गरिएको छ ।

बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र त्यसलाई आजको बैठकले घोर निन्दा गरेको बताए । प्रधानमन्त्री कदमको विरुद्धमा आज पाँच दलले गरेको निर्णय र जारी गरेको विज्ञप्तिप्रति जसपा नेपालको बैठकले समर्थन जनाएको उनले पनि बताए । प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानुनी उपचार खोज्ने तथा संघर्ष गर्ने निर्णय पनि भएको उनले बताए ।