ओली सरकारका मन्त्रीलाई कालोझण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने

८ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराती १२ बजे प्रतिनिधिसभा संसद विघटन गरेपछि आक्रोशित नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठनले कडा आन्दोलनको घोषणा गरेका छन् ।

आज शनिवार माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजनिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई विरोध गर्ने, सरकारका मन्त्रीलाई कालोझण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने रहेका छन् ।