कोरोना संक्रमणबाट महोत्तरीको एउटै बस्तीमा १५ दिनमा १३ जनाको मृत्यु

७ जेठ, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।

चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले जानकारी गराएका छन् ।

‘बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे’ दाहालले भने, ‘अस्पताल पु¥याइएका दुईजनाको पनि पीसीआर परीक्षण भने गरिएको थिएन ।
महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताए ।

आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताए । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए ।

‘पीसीआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भने, ‘सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।’ अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए ।

जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड–१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज बिहान ७ बजेसम्म जम्मा ४१ जनाको सङ्क्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।