इटालीको जुन ठाउँ मानव प्रयोगशाला कहालीलाग्दो दृश्य

कदर समाचार
२५ चैत, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण अहिले सबैभन्दा प्रभावित बनेको एक युरोपेली मुलुक इटाली हो । इटालीको सरकारले भाइरस नियन्त्रणका लागि एकपछि अर्को कदम नचालेको पनि होइन । तर, महामारी नियन्त्रणमा आउन सकेन । इटालीमा अहिले एक लाख ३० हजार संक्रमित भेटिएका छन् । जसमध्ये १५ हजार आठ सय ८७ ले ज्यान गुमाएका छन् । इटलीमा पनि कोरोनाबाट अति प्रभावित क्षेत्र हो, नेरोल्ला ।  यो क्षेत्रलाई रेड जोन घोषणा गरिएको छ । यहाँका सबै मानिसहरुलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । त्यहाँ कोही पनि बाहिर निस्किन र भित्र प्रवेश गर्न पाउँदैनन् । त्यसको निगरानी गर्ने जिम्मा सेनालाई दिइएको छ ।
बीबीसीकाअनुसार यो निकै सानो गाउँ हो । यहाँ कोरोना भाइरसको महामारी यति छिटो फैलिन्छ भनेर कसैले पनिसोचेका थिएनन् होला । तर, गत साता गाउँमा ७७ संक्रमित फेला परे ।
लगतै गाउँका एक हजार नौ सय मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । यतिसम्म कि खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सेवाको लागि पनि बाहिर जाने अनुमति दिइएको छैन । यस्ता सामग्री सुरक्षाकर्मीले नै किनेर घरमा ल्याइदिन्छन् ।
स्थानीयवासी भने भाइरसको लक्षण नदेखिँदा पनि क्वारेन्टाइनमा राखेको भन्दै आक्रोशित छन् ।
तर, इटालीका स्वास्थ्य अधिकारीहरु भने जनसंख्याका आधारमा संक्रमितको संख्या सबैभन्दा बढी देखिएकाले यस्तो गर्नु आवश्यक रहेको बताउँछन् । आफूहरु थप जोखिम लिने पक्षमा नरहेकाले गाउँलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताए ।
अहिले त्यही नेरोल्ला क्षेत्रका सबैमा मेडिकल शोधकर्ताले नयाँ प्रयोग गर्ने भएका छन् । शोधकर्ताहरु यो समुदायमा कसरी भाइरस फैलिरहेको छ र कति मानिसमा यो भाइरसको लक्षण देखिएको छ भन्ने अध्ययन गरिरहेका छन् । यसको आधारमा उपचार पद्धति खोज्न सजिलो हुने उनीहरुको भनाइ छ ।