कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नहुदा सम्मका लागि स्थगित

कदर समाचार
२५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण देश नै लकडाउनमा रहेको बेला संचालन गर्न नसकिने भन्दै सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापिइसकेको थियो, तर ढुवानी गरेर जिल्लामा पुर्याउन बाँकी थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिए ।
परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।
परीक्षामा कक्षा ११ र १२ का कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरेको थियो ।