भारतमा अहिले कोरोना भाइरसका संक्रमित दैनिक घट्दो

एजेन्सी

भारतमा आइतबार पछिल्ला २७ दिनमै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर २ लाख ८१ हजार ९ सय ११ जना संक्रमित थपिएका हुन्। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको भारतमा अहिले दैनिक संक्रमण घटिरहेको छ।

अघिल्लो साता भारतमा दैनिक औसतमा ३ लाख २८ हजार संक्रमित थपिएका थिए।

टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो समय दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

यसले भारतमा कोरोनाको दोस्रो लहर ‘पिक’ मा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४९ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७४ हजारले ज्यान गुमाएका छन् भने ३५ लाख अहिले सक्रिय संक्रमित छन्।