फास्ट ट्रयाक को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता

२ जेठ, काठमाण्डौ । काठमाडौं–तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । द्रुत मार्गमा बन्ने ६.५ किमी सुरूङलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का दिन लागेको हो ।
महादेवडाँडामा बन्ने ३.५ किमीको सुरूङको लागि चाइना स्टेट कन्ट्रक्सनले ठेक्का पाएको छ। दोश्रो प्याकेजमा रहेको धेद्रे (१.६ किमी),लेनडाँडामा(१.४ किमी) टनेल बनाउने ठेक्का चिनियाँ कम्पनी पोलिच्याङ्गदा इन्जिनियरिङले पाएको छ ।
ठेक्का सम्झौतामा शुक्रबार हस्ताक्षर भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेतोपाटीलाई बताए ।

पहिलो प्याकेज अन्तर्गतको ठेक्का मूल्य २१ अर्ब ६१ करोड छ भने दोश्रो प्याकेज अन्तर्गतको लागत २८ अर्ब ५३ करोड रुपैयाँ छ,’ उनले भने,’६ महिना डिजाइनको लागि छुट्ट्याइएको छ भने काम सक्ने अवधि ३ वर्ष छ । निर्माणको काम इपिस मोडलअन्तर्गत हुनेछ ।’

यसका लागि छिट्टै कार्यादेश जारी हुने उनले बताए। ठेकेदार कम्पनीलाई सुरूमा अधिकतम् २० प्रतिशत रकमसम्म दिन सकिने उनले बताए ।

७२.४ किमी लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडक हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने सेनाको योजना छ । फास्ट ट्रयाकमा ६.५ किमी सुरूङसँगै साना–ठूला गरी ८७ वटा पुल बनाउनु पर्छ । जसको लम्बाई १०.५६ किमी हुनेछ ।