१३ वटा डीआईजीपीको दरबन्दी कटौटी, २६ बाट १९ मा झारियो

कदर समाचार
२५ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक
(डीआईजी) को दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको १३ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नै नगरी हचुवाको भरमा सरकारले डीआईजीको दरबन्दी कटौती गरेको प्रहरी अधिकारीहरुको आरोप छ । प्रहरी नियमावलीमा प्रहरी संगठनमा कुनै पनि दरबन्दी थप्न तथा घटाउन ओएन्डएम सर्वेक्षण गर्नुपर्ने प्रावधान छ ।
गृह मन्त्रालयले प्रशासनतर्फका डीआईजीको दरबन्दी २६ बाट १९ मा झार्ने प्रस्ताव गरेको थियो । सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ मात्र राख्ने निर्णय गरेको स्रोतले बतायो ।
मन्त्रालयका एक अधिकारीका अनुसार धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाइन लागेको हो ।
स्रोतका अनुसार सात प्रदेशमा सात, महानगरीय प्रहरी कार्यालयमा एक, तीनवटा ब्यूरोमा तीन, प्रहरी एकेडेमीमा एक तथा प्रहरी मुख्यालयमा एक गरी १३ वटा डीआईजीको दरबन्दी राख्न लागिएको छ ।