माधव नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय : एमालेका सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्किन्छन् भने केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ

३० वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक भरखरै सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए ।

हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ ती नेताले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंदा पार्टी एकता जोगिन्छ,’ नेता रघुजी पन्तले भने ।

तर जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव ल्याइएको हो भने त्यो मान्ने नहुने पन्त बताउँछन् । बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेका समयसीमा सकिदैछ ।