Breaking News

नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ता तय

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने ।

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन् ।

कुराकानी सुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भने । बालुवाटारमा स्थायी कमिटीको बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।