देउवाको निवास बुढानिलकण्ठमा महन्थ र राजेन्द्र वार्ता जारी

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।

बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ ।

स्रोतकाअनुसार अहिले भेटवार्ता जारी छ ।

देउवालाई भेट्न सुरूमा नेता महतो पुगेका थिए । त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ ।

जसपामा वैकल्पिक सरकार गठनका विषयमा विवाद छ । अध्यक्ष ठाकुर पक्ष नयाँ सरकार बनाउने पक्षमा देखिएको थिएन । तर संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव देउवाको नेतृत्वमा सरकार बनाउन तयार भएका थिए ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीत रहेर छलफल भइरहेको छ । आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारवाही फुकुवा गरेको छ ।

एमालेमा असन्तुष्ट रहेका नेता नेपाल पक्षले नयाँ सरकार गठनमा सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो ।