१९ वैशाख, काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको नयां रेकर्ड आज एकै दिन १३९ जनाको कोरोना संक्रमितको मृत्यु र थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १७ हजार ६ सय ३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १३९ जनाको मृत्यु भएको देखिएको हो ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
आजै ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । यो सँगै ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।
सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।
अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ ।
सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।