संवैधानिक परिषदको बैठकले गरेका रिक्त पदका नियुक्तिको सिफारिस यस प्रकार छन्

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री सहित तीन जना राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहभागी सहितको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको संवैधानिक परिषदको बैठकले विभिन्न आयोगहरूमा रिक्त पदका लागि नियुक्तिको सिफारिस गरेको छ ।

जसअनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बागलुङका डाक्टर हरि पौडेल र ललितपुरकी डाक्टर सुमित्रा श्रेष्ठ ब्याञ्जुलाई नियुक्त गर्ने परिषदको सिफारिस छ ।

लोक सेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय भएको छ। रेग्मी पूर्वसचिव हुन्। उनले लामो समय आयोगमा रहेर काम पनि गरेका थिए ।

साथै आयोगको सदस्यहरूमा कपिलवस्तुका माधव वेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीकी मञ्जु कुमारीलाई नियुक्त गर्न परिषद बैठकको सिफारिस छ ।

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा रूपन्देहीका सगुन शम्शेर जवरालाई नियुक्त गर्ने सिफारिस छ भने प्राकृति स्रोत तथा वृत्त आयोग सदस्यमा पाँचथरका विपिनराज निरौला, धनुषाकी सुधाकुमारी झालाई नियुक्त गर्न सिफारिस गरिएको परिषदले जनाएको छ ।

राष्ट्रिय महिला आयोगको रिक्त सदस्य पदमा धनुषाकी जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मा तिवारीलाई नियुक्त गर्न सिफारिस भएको छ।

राष्ट्रिय दलित आयोगको रिक्त सदस्य पदमा काठमाडौंका सुन्दर पुर्कुटी नियुक्त गर्ने सिफारिस छ। यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदमा कास्कीका डाक्टर रामकृष्ण तिमिल्सिना र सदस्यहरूमा पर्वतका पुष्पराज तिमिल्सिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्ति गर्न सिफारिस गरिएको हो।

आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सूर्यबहादुर गुरूङ र मधेशी आयोग सदस्यमा सप्तरीकी आभा कुमारीलाई नियुक्त गर्न सिफारिस गरिएको परिषदका सदस्य तिमिल्सिनाले सेतोपाटीलाई बताए।

यस्तै थारू आयोग सदस्यमा नवलपरासीका डाक्टर उमाशंकर चौधरी र मुश्लिम आयोग सदस्यमा सर्लाहीका मोहम्मद समसुल हगलाई नियुक्त गर्न सिफारिस गरिएको छ।