संसदमा प्रधानमन्त्रीथिको विश्वासको मत लिने प्रक्रिया यस्तो छ

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ ।

विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन् । प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रधामन्त्रीको जवाफपछि विश्वासको मतको प्रस्तावउपर निर्णय प्रक्रिया सुरु हुने छ । यो प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाइने छ । सांसदहरु आफ्नो हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुने छन् । संसद सचिवालयको रजिष्टरमा हुन्छ, हुन्न र मत दिन्न तीन किसिमका कोलम बनाइएको छ । सांसदहरुले त्यही कोलममा हस्ताक्षर गरेर आफ्नो मत प्रकट गर्नेछन् । मतदानमा कोरोना संक्रमित सांसदहरुलाई पनि सहभागी गराइने छ । उनीहरुलाई संसद भवन परिसरको छुट्टै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको संख्या गणना हुने छ । बहुमत पाएमा ओली प्रधानमन्त्रीमा कायमै रहने छन् । नपाए उनको विकल्पमा अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ । संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। आन्तरिक विवादमा फसेको एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा वा फ्लोर क्रस गर्न सक्ने आंकलन पनि हुँदै आएको छ ।

यदि एमालेका सबै सांसदहरुले ओलीलाई मत दिए पनि सरकार टिकाउन चाहिने मत अपुग हुने छ । किनभने ६१ सांसद रहेको कांग्रेस र ४९ सांसद रहेको नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेका छन् । अंकगणितको हिसाबमा सत्ता समीकरणमा निर्णायक मानिएको जसपाका हाल कायम ३२ सांसद छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।

संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।