कोरोना संक्रमित सांसदले पनि विश्वासको मत दिने पाउने छुट्टै व्यवस्था

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय भएको छ ।

‘संक्रमण भएका माननीयलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी गराए ।

प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् । हालसम्म ५० भन्दा बढी सांसदको परीक्षण गर्न बाँकी छ । उनीहरुको आज नै स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।