संवैधानिक परिषदको बैठक स्थगित गर्न सरकारलाई प्रचण्डको आग्रह

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका छन् । संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।