अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालक पक्राउ

२५ वैशाख, काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। तिवारी घरमा औषधी पसल
चलाउँथे ।

तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको खनालले बताए ।

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ ।

तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको हो ।