गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न माधव नेपालको चेतावनी

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् ।
सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वानसमेत गरेका छन् ।

नेपालले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु भनेका छन् ।