कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

२४ वैशाख, नेपालगञ्ज । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् ।

‘३÷४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन् । अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।