नेकपा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

बुधबार समर्थन फिर्ताको पत्र बुझाएपछि माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले पत्रकारहरुसँग भने, ‘प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गैरहनुभएको छ । उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।

अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।

माओवादीका प्रमुख सचेतक गुरुङले नियमित अधिवेशन बोलाउनु पर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिए । यसो गर्नु संविधान विपरीत रहेको जिकीर उनले गरे ।