मलेशिया लगायत खाडी मुलुकमा रहेका २७ जना नेपालीहरुमा कोरोना भाइरस संक्रमित पुष्टि

कदर समाचार
एजेन्सी
२४ चैत, काठमाडौं । विश्वभरी फैलिएको कोरोना भाइरसले खाडी मुलुकमा गएको नेपालीलाई पनि कोरोना संक्रमित भएका छन् । त्यसमा पनि मलेसिया र खाडी मुलुक नेपाली कामदारको मुख्य श्रम गन्तव्य हो । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरु अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।
अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् ।
बहराइनमा सबैभन्दा बढी
सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिनअघि बहराइनमा एकैपटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि ३ जना संक्रमित आइसोलेसनमै थिए ।
सल्मावादस्थित करिब चार सयजना बस्ने एक श्रमिक शिविरमा कोरोना फैलिँदा एकैपटक ९ जना नेपाली त्यसको संक्रमित भएको पाइएको थियो । सो शिविरबाट ६६ जना संक्रमितको पहिचान भएको थियो ।