बेनीमा १० दिनका लागि निषेधाज्ञा जारी

२१ वैशाख, बेनी । पछिल्लो चरणमा मुलुकभरमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि त्यसको रोगथाम र निस्तेजका लागि भन्दै बेनी नगरपालिकालमा भोलि २२ गते राती १२ देखि लागु हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बनेको सदरमुकाम म्याग्दीमा बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र कोरोना संक्रमितको संख्या केहीदिन यता बढेपछि नगरपालिका भित्र अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जनाएका छन् । पहिलो चरणमा पूर्णरुपमा लकडाउन नगरी निषेधाज्ञा मात्रै गरिएको र जिल्लाभित्र निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिएकाले बेनी नगर बाहिर मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र विद्यालय बाहेक सबै सेवाहरू सुचारु अवस्थामै रहने बताइएको छ ।

नेपालमा कोरोनाको दोस्रो लहरपछि म्याग्दीमा पनि कोरोना संक्रमित २३ जना उपचारपछि घर फर्किएका छन भने ७३ जना सक्रिय संक्रमति रहेकोमा करिब आधा बेनीनगरपालिका भित्रका छन् । जिल्लाका अन्य पाँच स्थानीय तह ठेगाना भएका संक्रमतिहरु समेत बेनीबजारभित्रै होम आइसोलेसनमा रहेकाले संक्रमणको गतिलाई ’चेनब्रेक’ गर्न नगरपालिकाले आज सर्वदलिय बैठकमार्फत १० दिन पूर्णरुपमा लकडाउन गर्न सिफारिस गरेको भएपनि डिसिसिएमसिले अत्यावसेक सेवाहरु सञ्चालन गर्ने गरी निर्णय गरेको छ । सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायहरुको उपस्थितीमा १० दिने निषेधाज्ञाको अवस्था हेरेर अर्को निर्णय गरिने डिसिसिएमसिले जनाएको छ । साथै सदरमुकाम बेनी रहेको वडा बाहेक ८ वटै वडामा निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि अनुरोध समेत गरिएको प्रजिअ अधिकारीले बताए ।