कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किँदै

२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेका छन् ।

आज संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ ।’

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यले बताए । ‘सकभर घर नगइदिनुस् भन्ने आग्रह छ । जाँदै नजानुस् भन्न सक्दैनौं । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसंगै रहुँ भन्ने होला । तर, बाटोमै संक्रमण हुन सक्ने सम्भावना रहन्छ नजानुस् भनेर मात्रै आग्रह गर्ने गरेका छौं’ उनले भने ।

आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको बताए । ‘अहिले २३ जनाको निधन भएको तथ्याङ्क हामीसँग छ । तर, यो भन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको यो तथ्याङ्क अपुरो छ,’ उनले भने ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए ।