Breaking News

सुत्केरी सेक्न झ्याल–ढोका थुनेर बस्दा एक जना निसास्सिएर मृत्यु

२१ वैशाख,काठमाडौं । भक्तपुरमा सुत्केरी सेक्न झ्याल–ढोका थुनेर कोइला बालेर बसेका तीनमध्ये एक जनाको निसास्सिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीया सुनिता तामाङ छिन् । उनी भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा आमासँगै डेरामा बस्दै आएकी थिइन् ।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा छन् ।
आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

आइतबार राति ११ बजे घरको झ्याल–ढोकाको चुकुल फोडेर उनीहरूलाई निकालिएको थियो ।
प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन् । सुत्केरी सेक्न कोठामा कोइला बालिएको थियो ।

‘कोठाभित्र मकलमा बालेको कोइला भेटिएको छ, सबै झ्याल–ढोका भित्रबाट बन्द गरिएको थियो,’ परिसर प्रवक्ता दीपक गिरीले भने, ‘अक्सिजनको कमी भएकाले उनीहरू बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’