पदीय मर्यादा र दायित्व हेरेर सबैको सहमतिमा अगाडि बढ्ने छु

गण्डकी प्रदेश प्रमुख, सीता पौडेल

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् ।

यो नियुक्तिलाई विपक्षी दलहरुले सरकारको सत्ता लम्व्याउने खेलको रुपमा बुझेका छन् ।

गण्डकीको विषय राजनीतिक परिस्थितिमा सीता पौडेल कसरी अघि बढ्लिन् भन्ने चासो छ । यसबीचमा अनलाइनखबरसँग कुरा गर्दै उनले आफ्नो जिम्मेवारीलाई ‘कल्पना बाहिरको’ मात्र भनिनन् नैतिकता नबिर्सने र पदीय मर्यादा ननाघ्ने समेत बताइन् ।

नवनियुक्त प्रदेश प्रमुख पौडेलसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी–

अहिलेको राजनीतिक विषम परिस्थितिमा कसरी अगाडि बढ्नुहुन्छ ?

मैले जीवन नै राजनीति र संघर्षमा गुजारें । आन्दोलनमा होमिएँ । पार्टी र जनताका निम्ति भनेर खटिएँ । आज त्यसैको फस्वरुप प्रधानमन्त्रीले गण्डकी प्रदेश प्रमुख बनाउनुभएको छ । पदीय मर्यादा र दायित्व हेरेर सबैको सहमतिमा अगाडि बढ्ने छु । धेरै समस्या त त्यहीँ पुगेपछि थाहा होला । जुन पार्टीमा लागे पनि सबैको साझा बन्ने प्रयत्न गर्ने छु । मर्यादा नाघ्दिनँ ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुँदै गर्दा अप्ठेरो परिस्थितिमा टपक्क टिपेर पठाउनुभएको छ, गण्डकी प्रमुखको जिम्मेवारीबारे सोच्नुभएको थियो ?

राजनीति सिधा बाटोमा हिँड्दो रहेनछ । अहिलेको अवस्थामा आएर प्रदेश प्रमुखको जिम्मेवारी मेरो कल्पनाभन्दा बाहिरकै कुरा हो । यो मैले सोचेको विषय होइन, थिइनँ ।

लामो समय एमाले राजनीतिमा लागेकै कारण प्रधानमन्त्रीले प्रदेश प्रमुखको पद थमाएका छन्, त्यो पनि अहिलेको जटिल राजनीतिक अवस्थामा के होला त कारण ?

चुनौतिको आत्मसात गरेर आएकै कारण अहिलेसम्म राजनीतिमा टिकेकी हुँ । नत्र चुनौतिको सामाना गर्न नसकेको भए ५० वर्षको राजनीतिक यात्रा तय हुँदैनथ्यो । सबै जानेर आइएको हुँदैन, सिक्दै जाने हो । कर्तव्य, अधिकार क्षेत्र सबै कुरा ख्याल गरेर काम गर्न प्रधानमन्त्री जिम्मेवारी दिनुभयो भन्ठानेकी छु ।

प्रदेश प्रमुखलाई निश्पक्ष र तटस्थ पद मानिन्छ तर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वास प्रस्ताव संसदमा रहेका बेला सेटिङ मिलाउन तपाईंलाई जिम्मेवारी दिइयो भन्ने आरोप छ नि ?

प्रदेश प्रमुख फेर्ने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको अधिकारको कुरा हो । उहाँले मूल्यांकन गरेर जसलाई प्रदेश प्रमुख बनाउँदा त्यहाँको समस्याको ट्याकल गर्न सक्छ भनेरै मलाई पठाउनुभएको होला । सत्तारुढ दललाई सजिलो पार्नका निम्तिमात्रै पक्कै होइन होला । म मेरो पदीय जिम्मेवारीबाट के भूमिका निभाउनुपर्छ, पदीय मर्यादा कसरी कायम गर्नुपर्छ भन्नेमा निश्पक्ष लाग्ने छु ।

अनलाईनखबरबाट