काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू अबदेखि बिहान मात्रै खोल्न दिनेबारे छलफल

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमणलाई रोकथामका लागि भनेर लगाइएको लकडाउनमा काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू यस अघि बिहान र बेलुकाको समयमा खोल्ने भनिएको भए पनि अबदेखि बिहान मात्रै खोल्न दिनेबारे छलफल भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय बताइएको छ ।

हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ । पछिल्लो समय उपत्यकामा संक्रमणको फैलावट तीव्र बन्दै जाँदा मोबिलिटी कम गर्न प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने बारे समेत छलफल भएको बताइएको छ ।