१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो मुख्यमन्त्री पदबाट राजीनामा दिएर आजै पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।
उनीहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेका छन् ।
यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।
उनको राजीनामापछि सांसद विमला वली (खत्री) ले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन । यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ ।