विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी

१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे आज ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले बताए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिजोको तुलनामा आज उडान संख्या भने उल्लेख्य घटेको छ । बुधबार १५ हजार २ सय ६३ जना आन्तरिक हवाई यात्रुले जहाज चढेका छन् ।

आज यसको तुलनामा ५० प्रतिशत मात्र यात्रु हुने अनुमान छ । हिजो कुल १४९ उडान अवतरण भएका थिए । यता, वायुसेवा कम्पनीहरुले भने सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान भइरहेको जानकारी दिए ।