चिनियाँ खोप लगाउने व्यक्तिले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने

१५ बैशाख,काठमाडौं । कोरोना भारइसविरूद्धको ’भेरोसेल’ नामक चिनियाँ खोप लगाउने व्यक्तिले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने छ ।

खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप कार्ड देखाएर भारतीय खोपको दोस्रो डोज काठमाडौं बाहिर पनि लगाउन सकिने भए पनि चिनियाँ खोप भने काठमाडौंमै लगाउनुपर्ने हुन्छ ।
उनले चिनियाँ खोप सीमित आएका कारण काठमाडौंमा मात्र वितरण गरिएको भन्दै दोस्रो डोज लगाउने व्यक्तिले यहीँ लगाउनुपर्ने जानकारी गरे ।

’जम्मा चार लाख जनालाई पुग्ने खोप भएकाले बाहिर पठाउन सकिएन । जोखिम घनत्वको हिसाबले पनि काठमाडौंमै वितरण गर्नुपर्छ भन्ने भयो,’ डा. शर्माले भने ।
चीनले नेपाललाई ८ लाख डोज ’भेरोसेल’ खोप अनुदानमा दिएको हो ।

सुरूमा उक्त खोप कसरी वितरण गर्ने अन्यौलमा परेको सरकारले पछि काठमाडौंमा रहेका निश्चित समूहका मानिसलाई लगाउने निर्णय गरेको थियो ।

उनले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज अभियान सुरू गरिने बताए ।
उपत्यकामा भेलिदेखि निषेधाज्ञा जारी गरिएपछि धेरै मानिसहरू आ–आफ्ना गाउँ फर्किएका छन् ।
यदि तीमध्ये पहिलो डोज चिनियाँ खोप लगाउने व्यक्ति छ भने उनीहरूले दोस्रो डोज पनि उपत्यकामै लगाउनुपर्ने बताए ।