बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा स्थगित

कदर समाचार
चैत्र २४, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका र सरकारले लकडाउन गरेका कारण भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिएकी छिन् । यस वर्ष जात्रा नगर्ने र सामान्य पूजामात्र गर्ने निर्णय भएको छ ।
बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ । यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ ।
जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।