गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । प्रदेश सरकार फेरबेदल हुने क्रममा कर्णाली प्रदेश पछि गण्डकी प्रदेश सभामामा पनि त्यसको कार्य आजबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।

६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुने सुइँको पाएलगत्तै १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङ संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए ।

३ दलले अविश्वासको प्रस्ताव पनि दर्ता गराउँदै विशेष अधिवेशन बोलाउन सोही दिन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन दिएका थिए । प्रदेश प्रमुख शेरचनले विपक्षी दलको माग बमोजिम आजका लागि विशेष अधिवेशन बोलाएका थिए ।