आफूहरुको उदारतालाई कमजोरी नठान्न भ्लादिमिर पुटिनको चेतावनी

९ वैशाख, काठमाडौं । आफूहरुको उदारतालाई कमजोरी नठान्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पश्चिमा देशहरुलाई चेतावनी ।

अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए ।

पुटिनले भने, ‘हामी सम्बन्धलाई सामान्य बनाउने कोसिस अन्त्य गर्न चाहदैनौं । तर यदि कोही हाम्रो उदारतालाई कमजोरी ठान्छ भने हाम्रो प्रतिक्रिया त्यस्तै किसिमको कठोर हुने छ ।’

पुटिनले बेलारुसमा सत्ता उल्टाउने षडयन्त्र गरेको भनेर पश्चिमा देशमाथि नै आरोप लगाए । उनले भने, ‘अन्यायपूर्ण प्रतिबन्धहरुको प्रयोग अति नै खतरनाक दिशामा बढेको छ । जस्तो कि बेलारुसमा सत्ता उल्ट्याउने प्रयास ।

हालै बेलारुस सरकारविरुद्ध प्रदर्शन भएको बेला पुटिनले भने बेलारुसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेलाई साथ दिए । बेलारुसका अधिकारीहरुले अमेरिकाको उक्साहटमा राष्ट्रपति लुकाशेको हत्या गर्ने षडयन्त्र रचिए पनि त्यसलाई असफल पारेको अभिव्यक्ति दिएका थिए ।

यद्यपि निर्वासित विपक्षी नेता स्वेतलाना तिकानोवस्क्याले भने राष्ट्रपतिको हत्या गरी सत्ता उल्टाउने प्रयास गरिएको भन्ने आरोपलाई खारेज गर्दै आएका छन् ।