६ वैशाख, बुटवल । पछिल्लो राजनीतिक परिघटनाले अहिले प्रदेश सरकारमा भुइचालो नै ल्याएको । पहिलो चरणमा कर्णाली प्रदेशमा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएर मुख्यमन्त्रीको पद बचाइ सकेका छन भने आज फेरि लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।
सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।