एमाले ओली पक्षयले भोलि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृत बोहोराको अपिल

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न माधव पक्षीय नेता अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै सो बैठक रोक्न आग्रह गरेका हुन् ।

अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ ।

उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले उल्लेख गरेका छन् । वक्तव्यमा अदालतको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ । बोहराले गएको २८ फागुनमा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव समेत दिएका छन् ।