बिमा कम्पनीले अभिकर्ताहरुलाई ऋण दिन नपाउने

५ वैशाख, काठमाडौं । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ ।

मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले बताएका छन् ।

‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ समितिका उप–निर्देशक ध्रुब तिमल्सिनाले हस्ताक्षर क्षर गरेको पत्रमा भनिएको छ ।

यो कार्य तत्कालै रोक्न र लगानी भएका कर्जा समेत तत्कालै उठाउन निर्देशन समेत समितिले दिएको छ । समिति श्रोतले दिएको जानकारी अनुसार जीवन बिमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ भन्दा धेरै यस्तो कर्जा लगानी गरेका छन् ।