फ्लोर क्रस गर्दा मन्त्री पद उपहार

४, बैशाख, काठमाण्डौ । कर्णाली प्रदेशमा हिजो भएको मुख्यमन्त्री बिरुद्धको विश्वासको मतमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएकाले आज मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरु बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

कर्णाली प्रदेशमा ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिए र सरकार जोगियो ।

एमाले प्रदेश कमिटीले आज शनिबार ति फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

मुख्यमन्त्री शाहीले भने एमालेबाट निस्कासित तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका छन् ।