प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु नजाने

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अबको केही बेरमा बालुवाटारमा बस्दैछ । तर नेकपा माओवादी केन्द्रका नेताहरु लाई कुनै जानकारी र सूचना नभएकाले नजाने भएका छन् ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न अहिले विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

तर माओवादी नेताहरुले भने सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । सर्वदलीय बैठकमा कोको जाने हो भन्ने प्रश्नमा माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘कुन मिटिङ ? हामीलाई त कुनै खबर छैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले पनि सर्वदलीय बैठकका लागि खबर नआएको बताएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले हिजो शुक्रबार प्रचण्डलाई टेलिफोन गरी तीन नेता (ओली, प्रचण्ड र शेरबहादुर देउवा) बीच भेटवार्ता गर्ने प्रस्ताव मात्र राखेका थिए । जवाफमा प्रचण्डले थप कुराकानी गरौंला भनेका थिए । दुई नेताबीच टेलिफोन सम्वाद भएलगतै सर्वदलीय बैठक बोलाएको समाचार सञ्चार माध्यमहरुमा आए पनि पार्टीलाई खबर नभएको एक सदस्यले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि सर्वदलीय बैठकमा बोलाइएको बताए । उनले भने, ‘बैठकमा उहाँलाई (प्रचण्डलाई) पनि बोलाइएको हो, आउने÷नआउने कुरा उहाँहरुकै बिचार हो ।