सिंगटी हाइड्रोपावरको सेयर भोलि बाँडफाँड

२६ चैत्र,काठमाडौं । सिंगटी हाइड्रोपावरको सेयर भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो ।

कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो ।

२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन् । १६ लाख २३ हजारले आवेदन दिएका थिए । साढे १३ लाखको हात रित्तो हुनेछ ।

दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ ।

७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ।