सम्भावित संक्रमितको सूची ‘रेड जोन’ मा कूल १४० जनालाई राखिएको छ

कदर समाचार
चैत्र २३ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने गरेको नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै, हाल काठमाडौँमा १२ तथा काठमाडौँ बाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबार आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितको सूची ‘रेड जोन’ मा कूल १४० जनालाई राखिएको पनि जानकारी दिए । यता, खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको पनि डा. देवकोटाले जानकारी दिए ।
डा. देवकोटाका अनुसार उपत्यकाबाहिर ७ स्थानमा कोभिड–१९ को परीक्षण सुरु भएको छ । चितवन, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षणहरु भइरहेका छन् । बुटवलमा पनि चाँडै सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिए छन् ।