बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने सहर

एजेन्सी

चिनियाँ राजधानी बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने सहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जनाल बेइजिङका बासिन्दा छन्। तीमध्ये ३३ जना  अर्बपति यसपालिमात्रै थपिएका हुन्।

बेइजिङपछि अमेरिकाको न्युयोर्क सहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो नम्बरमा थियो।

चीनले कोरोनाभाइरसमाथि गरेको प्रभावकारी नियन्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरू बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका हुन।

बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा  ८० अर्ब डलर बढी सम्पत्ति छ।

चीनमा (हङकङ र मकाउसमेत) यस वर्ष  २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधिसम्बन्धी कम्पनीका मालिक हुन्। चीनकी अर्बपति महिला केइट वाङले इ-सिगरेटबाट पैसा कमाएकी हुन्।

अहिले चीनभरि ६९८ जना अर्बपति छन् भने अमेरिका ७२४ जनाको सम्पत्ति १ अर्ब डलरभन्दा बढी छ।

यसपालि फोर्ब्सको सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना मानिस अर्बपति बनेका छन्।

भारत धेरै अर्बपति भएको मुलुकमा तेस्रो स्थानमा छ। त्यहाँ १४० जना डलर अर्बपति छन्।