Breaking News

काठमाडौं विश्वविद्यालयमा आजदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय

२६ चैत, काठमाडौं । पछिल्लो चरणमा मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि शिक्षण संस्थामा प्रत्यक्ष असर पर्न गएको छ । यसै क्रममा काठमाडौं विश्वविद्यालयले कोरोना संक्रमणको ख्याल गरी बिद्यार्थीहरुलाई बिद्यालयमा नबोलाएर घरमै बसी पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।

विश्वविद्यालयले आजदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख छ ।

सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ ।