नेपाली स्थानीयस्तरमा कोरोना देखिएपछि चीनद्धारा नाका खोल्न आनाकानी

कदर समाचार
२३ चैत, काठमाडौं । सरकारले भारत र चिनका नाका खुला गर्ने निर्णय गरे पनि हिजोबाट चीन हच्किएको छ । नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ ।
नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा र्पुयाउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए ।
कोरोना भित्रिन नदिन उच्चतम सुरक्षा अवलम्बन गर्ने चीनको केन्द्रीय सरकारको नीतिअनुसार अहिलेकै अवस्थामा नाका खुला गर्न नसकिने जानकारी त्यहाँको प्रशासन नेपाली भन्सार कार्यालयलाई जानकारी दिएको छ ।
माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर–दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।
नेपाल भारत खुल्ला सीमा र भारतमा तीब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको अन्ुमान लगाउन सकिन्छ । व्यापारिक आवागमनले कोरोना नफैलियोस् भन्नेमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ । चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय सरकारले चैत १२ गते गरेको थियो ।