नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी

२२ चैत्र, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी दिइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा स्रोतले जनाएको छ ।

उनी प्रशिक्षक भएको घोषणा एन्फाले आज पत्रकार सम्मेलन गरेर गर्दैछ ।

यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए । महर्जनको नेतृत्वमा नेपालले गत साता थ्री नेसन्स कप जितेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो ।

जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाउन लागेको एन्फा स्रोतको भनाइ छ । नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल कुवेतमा हुनेछन् ।

अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय एन्फाको कार्य समितिबाट भने गरिएको छैन । पछि अनुमोदान गर्ने गरी उनलाई जिम्मेवारी दिन लागिएको एन्फा स्रोतको भनाइ छ ।

यसअघि अब्दुल्लाह एन्फाको प्रशिक्षण विभागमा रहेर काम काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो ।

प्रो–लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसनबीच सम्झौता भएको एन्फाको भनाइ थियो ।

यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु–२३ टिमलाई प्रशिक्षण दिएका थिए ।

यस्तै उनी किर्गिस्तानको यु–१७ टिमका प्रशिक्षक समेत रहेका थिए ।

उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ ।