बारपाकमा यात्रुबहाक जिप दुर्घटना २ जनाको मृत्यु सात घाइते

२२ चैत, काठमाडौं । गोरखाको बारपाकमा ना ५ च ३२९८ नम्बरको यात्रुबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सात जना घाइते छन् ।

जिप दुर्घटनामा परेर लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको हो । अन्य घाइतेहरू पनि सोही विद्यालयका शिक्षक हुन् ।

बारपाक घुमेर फर्कंदै गर्दा उक्त जिप शनिबार दुर्घटनामा परेको थियो । सडकबाट खसेको जिप करिब ५० मिटर तल दरौंदी नदी किनारमा पुगेको छ ।

दुर्घटनामा परेर उक्त विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो। अस्पतालले गए राति उनीहरूलाई मृत घोषणा गरेको छ ।

यस्तै चालकसहित दुर्घटनामा सात जना घाइते छन् ।

अन्य घाइतेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, १८ वर्षका अमृत दवाडी, विष्णु न्यौपाने, २९ वर्षका अमृत दवाडी, सुशील नराल र चालक सन्तोष तामाङ घाइते छन् । उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।