जोर्डनका पूर्वयुवराजलाई कू गर्न खोजेको आरोपमा नजरबन्दमा

एजेन्सी

जोर्डनका पूर्वयुवराजलाई कू गर्न खोजेको आरोपमा नजरबन्दमा राखिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  पूर्वयुवराज हाम्जा बिन हुसेनको दरबारमा शनिबार अधिकारीहरूले छापा हानेका थिए। गुप्तचर निकायले  हुसेनले अहिलेका राजा अब्दुल्लाहविरूद्ध  कू गर्न लागेको सूचना दिएपछि उनको दरबारमा छापा हानिएको हो। हुसेन र अब्दुल्लाह सौतेनी आमाका छोरा हुन्। बुवाको मृत्युपछि अब्दुल्लाह सन् १९९९मा जोर्डनका राजा बनेका थिए भने २००५ मा हुसेनको युवराज पद खोसिएको थियो।

शनिबारको छापापछि हुसेनका दुई जना उच्च अधिकारीलाई पनि पक्राउ गरिएको छ। राजधानी अम्मनमा रहेको उनको दरबार वरपरका सडक बन्द गरिएको छ भने शहरका मुख्य नाकाहरूमा प्रहरीले गस्ती गरेको छ।

जोर्डनका सेना प्रमुखले विज्ञप्ति जारी गर्दै आफूलाई जोर्डनको सुरक्षा र स्थायित्वलाई लक्षित गरी भइरहेका गतिविधि रोक्न भनिएको उल्लेख गरेका छन्। पूर्वयुवराज हुसेन पनि सुरक्षा निकायले गरिरहेको अनुसन्धानको दायरामा परेको सेनाले जनाएको छ।

यसैबीच हुसेनले भिडिओ जारी गर्दै आफूलाई घरभित्रै नजरबन्दमा राखिएको र कसैसँग सम्पर्क गर्न नदिएको बताएका छन्।

उनका एक जना वकिलले बिबिसीलाई उपलब्ध गराएको उक्त भिडिओमा उनले आफू कुनै पनि विदेशी  षडयन्त्रमा सहभागी नभएको उल्लेख गरेका छन्।