काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२० चैत्र,काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उनले बताए ।

बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने खड्काको भनाइ छ । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।
संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न सकेको थिएन । काँग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।

पार्टीको संस्थापन इत्तर पक्ष वर्तमान केपी ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि बैठकले अन्य दललाई आह्वान गर्नुपर्ने पक्षमा छ । तर सभापति शेरबहादुर देउवा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छन् ।

ओली सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका र जसपाको एउटा पक्ष ओलीसँग छलफलमा रहेकाले नयाँ सरकार निर्माणका लागि परिपक्व परिस्थिति बनिनसकेको देउवाको बताए । तर इत्तर पक्ष भने काँग्रेसले संस्थागत निर्णय लिएर जाँदा उनीहरुमाथि पनि दबाब सिर्जना हुने भन्दै बैठकबाट निर्णय लिनुपर्ने पक्षमा छ ।