जागिर मिलाई दिने प्रलोभनमा यौनिक करणी गराउने समूह पक्राउ

१९ चैत्र, काठमाण्डौ । कपडा पसलमा ‘काम लगाइदिन्छु’ भनेर सिन्धुली घर भएकी १६ वर्षीया किशोरीलाई सुहाना तामाङ उर्फ मसेलीले प्रलोभनमा पारिन् । मजदुर परिवारमा जन्मे–हुर्केकी बालिकाको परिवारलाई पनि लाग्यो–‘कपडा पसलको जागिरबाट आउने केही रकमले पनि गरिबीसँग जुध्न सघाउँछ ।

सिन्धुलीको घ्याङलेक गाउँपालिका घर भएकी मसेलीले काम लगाईदिने भनेर लगेकी छोरीले चैत १८ मा फोन गरेर बुवालाई भनिन्–‘म पटक–पटक बलात्कारको शिकार भएँ ।’ त्यसपछि बावुले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुर गरे ।

महानगरीय प्रहरी परिसर भक्तपुरले १८ बर्षिया सुहाना तामाङ सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भई काठमाडौंको माकलवारी बस्ने श्याम कुमार भट्टराई, काठमाडौं गोकर्णेश्वरका प्रकाश ढुंगेल, कागेश्वरी मनहराका राज कुमार सुनार र नुवाकोट घर भएकी मुना थापा मगर छन् ।

चैत १२ मा बालिकालाई सुहनाको समूहले लगेका हुन् । बालिकालाई सुन्दरीजल स्थित पाथिभरा फेमिली कटेज एण्ड खाजा घरमा सो समूहले शरिर बेच्न बाध्य पारेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए । सो समूहलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सुहाना र २४ बर्षिय श्याम कुमार भट्टराई पार्टनर हुन् । उनीहरुले वेश्यावृत्ति गराउनका लागी गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा फ्ल्याट लिएका छन् । फ्ल्याट चेकजाँच गर्दा किशोरीहरुलाई खान र बस्न मिल्नेगरी ब्यवस्थापन गरेको देखिएको डिएसपी गिरीले बताए । त्यहाँबाट यौनसम्पर्क गर्दा प्रयोग गरिने अस्थायी साधन प्रहरीले बरामद गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र नुवाकोटकी ३१ वर्षीया मुना थापा मगर पाथिभरा फेमिली कटेज एण्ड खाजा घरका संचालक हुन् । चैत १४ गते सो खाजा घरमा कागेश्वरी मनहरा–१ गागलफेदीका ४७ बर्षिय राज कुमार सुनारले जबर्जस्ती करणी गरेका थिए ।

बन्धक बनाएर बिक्री

१६ वर्षीया बालीकालाई सुहानाले श्याम कुमारसँग मिलेर काठमाडौँको माकलबारीमा भाडामा लिएको फ्ल्याटमा
लगिन् । त्यहाँबाट उनलाई विभिन्न होटलमा लैजाने र ग्राहकसँग जबरजस्ती यौनसम्पर्क गर्न बाध्य पारिन् ।

बालिकालाई कोठाभित्र बन्धक बनाएर राख्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । फ्ल्याटमा विभिन्न ठाउँबाट बालबालिकाहरुलाई ल्याएर राखी होटलसँग सम्पर्क गरी अनैतिक क्रियाकलापमा लगाउने गरेको खुल्न आएको डिएसपी गिरीले बताए ।

सुहानाले काठमाडौँमा काम लगाइदिने भन्दै आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई काठमाडौँ ल्याउँने र श्याम कुमारको सम्पर्कमा लैजाने गर्थिन् । श्याम कुमारले बालिका तथा युवतीहरुलाई शहरी फेशनको कपडा किनेर लगाउन दिने दिने र खाना र बस्न सुविधा दिने गर्थे ।

बालिका तथा युवतीलाई जवरजस्ती मादक पदार्थको लतमा फसाउने गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले विद्युतिय उपकरणमार्फत बालिका र युवतीहरुको तस्बिर होटल तथा लजका सञ्चालकलाई देखाएर ग्राहकसमक्ष पुर्याएर डिल गर्ने गर्थे ।

होटलमा आएका ग्राहकले माग गरेअनुसार भट्टराई आफैले तथा भाडाका ट्याक्सी, पठाओमार्फत सम्बन्धित होटलमा पठाउने गरेको खुलेको छ । प्रहरीका अनुसार बालिका सुहाना र श्याम कुमार नभएको मौका पारी झुक्याएर अभिभावकको सम्पर्कमा आएपछि उनीहरुको धन्दा बाहिरिएको हो ।

रातोपाटीबाट