न्यायाधीश सुवेदीको योग्यता नपुगेको रिट माथि सुनुवाइ हुँदै

१८ चैत्र, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । उक्त विवाद आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ ।

२८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषदविरुद्ध चैत १३ गते रिट दिएका थिए ।

नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।
कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपदर्छ ।

सुवेदीले उच्च न्यायाधीशको रुपमा ३ वर्ष तीन महिना ३ दिन मात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीको पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको रिट निवेदकको दावी छ ।