तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा

एजेन्सी

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएपछि राजनीतिक भुइँचालो गएको छ।

राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएका थिए। त्यसको अर्को दिन मंगलबार ब्राजिलको सेना, नेभी र एयर फोर्सका प्रमुखले राजीनामा बुझाएका हुन्। मंगलबार नयाँ रक्षामन्त्रीलाई भेटेर उनीहरूले एकसाथ राजीनामा बुझाएको बताइएको छ। मन्त्रालयले उनीहरूको ठाउँमा नयाँ प्रमुखहरू नियुक्त गरिने बताएको छ।

ब्राजिलियन सञ्चारमाध्यमहरूले राष्ट्रपतिसँग असहमति राखेर इतिहासमा पहिलो पटक तीनै सेनाका प्रमुखले राजीनामा दिएको उल्लेख गरेका छन्।

बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभई आफ्नो तजबिजमा चलाउन खोजेपछि रक्षामन्त्री फर्नान्डो एजेभेडो इ साल्भाले त्यसको विरोध गरेका थिए।

कोरोनाभाइरस महामारीलाई राम्ररी ‘ह्यान्डल’ गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेका राष्ट्रपति बोल्सोनारोलाई यो घटनापछि चुनौती थपिने भएको छ।

बोल्सोनारोले सेनाका प्रमुख जनरल एडसन लिल पुजोललाई हटाउन चाहेका थिए। पुजोल ब्राजिलियन सेनाको राजनीतिकरण रोक्नु पर्ने र कोरोनाभाइरसविरूद्ध कडा मापदण्ड अपनाउनु पर्ने पक्षमा थिए। बोल्सोनारोले सुरूदेखि नै कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिएका छैनन्। आफूले भनेको नमान्ने सेना प्रमुखलाई हटाउने योजनामा रक्षामन्त्रीले साथ नदिएपछि उनले रक्षामन्त्रीलाई नै बर्खास्त गरिदिएका थिए।

ब्राजिलमा अहिलेसम्म कोरोनभाइरसको संक्रमणबाट ३ लाख १४ हजार मानिसको ज्यान गइसकेको छ भने पछिल्लो समय त्यहाँ संक्रमण फेरि तीव्र रूपमा फैलिरहेको छ।

सन् २०१८ मा सत्तामा आएका बोल्सोनारो अर्को वर्ष हुने चुनावमा पनि जित्न चाहन्छन्। त्यसका लागि उनले तानाशाही शैली अपनाएर शक्ति आफूमा केन्द्रीकृत गरिरहेको आलोचकहरू बताउँछन्।