म्यानमारका धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी

एजेन्सी

१७ चैत, काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै सेनाले मानिसहरुलाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० जनाको मृत्यु भइसकेको छ । गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए ।

सेनाले निर्मम तरिकाले प्रदर्शनमा निस्किएका मानिसहरुमाथि गोली चलाउन थालेसँगै आन्दोलनलाई साथ दिइरहेको प्रमुख समुह जनरल स्ट्राइक कमिटि अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समुहहरुलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै तीन अल्पसंख्यक समुहले निर्दोष नागरिकहरुलाई निर्मम तरिकाले मार्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।

मंगलबार थाइल्याण्डले पनि म्यानमारको सेनालाई मुलुकमा भइरहेको हिंसा कम गर्न आग्रह थरेको छ । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री डोङ प्रमुद्विनइले म्यानमारको सेनालाई यस्तो आग्रह गरेका हुन् । साथै थाइल्याण्डले म्यानमारबाट भागेर आफ्नो मुलुकमा आएका शरणार्थीलाई पनि फिर्ता पठाउन अस्वीकार गरेको छ ।

एजेन्सीहरुको सहयोगमा